Udayashree News

कटारी , ५ का मुटुरोगी तामाङ्गलाई बचाउन कतारबाट १ लाख ९ हजार ५ सय २० आर्थिक सहयोग प्राप्त

उदयश्रीन्युज सम्बाददाता
२ चैत्र , सोमबार , २०७७


कटारी /उदयपुरको कटारी , ५ तीनतलेका मुटुको भल्व विरामी ३६ वर्षिय मिनबहादुर तामाङ्गलाई बचाउन कतारबाट एकलाख ९ हजार ५ सय २० रुपैंया सहयोग प्राप्त भएको छ । ४ वर्षदेखि विरामी भई हाल काठमाडौंको मनमोहन कार्डियोथोरासिक भस्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर टिचिङ्गको आईसियुमा उपचाररत तामाङ्गलाई कतारबाट फणिन्द्र भट्टराईको नेतृत्वमा संकलन गरिएको रकम सहयोग प्राप्त भएको हो ।
      कटारीकै कृष्ण थापाले तामाङ्गको बारेमा सहयोग गर्न फेसबुकमा आव्हान गरेपछी भट्टराईले रकम सहयोग संकलन गरी कटारीकै पत्रकार ऋषि राईलाई पठाईदिनुभएको थियो । पत्रकार राईले विरामीको परिवारसँग समन्वय गरी आज विरामीका आमा पञ्चमाया तामाङ्गलाई सम्पर्क गरी विरामीका काकाका छोरा उपचारमा सहयोग पुराईरहनुभएका ईन्द्रबहादुर तामाङ्गको एनआईसी एसिया वैंकको काठमाडौ क्षेत्रपाटी शाखाको ११६३३७१९२५२४००१ नम्बरको खातामा जम्मा गरिदिनुभएको हो ।
     आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका तामाङ्ग परिवारलाई यस अघि कृष्ण थापाले सहयोग संकलन गरी ३० हजार र गाउँबाटै संकलित ३० हजार उपलब्ध भएको ईन्द्रबहादुर तामाङ्गले बताउनुभयो । लामो समय उपचार जारी रहेका परिवारसँग आर्थिक अभाव भएकाले उपचारमा सहयोग गर्न विरामीका आमा पञ्चमाया तामाङ्गले आग्रह गर्नुभयो । तामाङ्गको अवस्था दयनिय भएको थाहा पाएपछी कतारबाट थोरै थोरै रकम जम्मा गरेर रकम सहयोग गरी पठाएको कतारबाट फणिन्द्र भट्टराईले बताउनुभयो । रकम प्राप्त भएको जानकारी गराउँदै विरामीका आफन्त ईन्द्रबहादुरले सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिनुभयो ।