Udayashree News

कटारीमा पनि सलह देखियो

उदयश्रीन्युज सम्बाददाता
१५ असार , सोमबार
कटारी /उदयपुरको कटारी नगरपालिकामा पनि सलह आईपुगेको कटारी नगरपालिकाको कृषि विकास शाखाले पुष्टि गरेको छ । शाखाले एक सुचना जारी गर्दै शनिबार साँझ देखि कटारीमा सलह देखा परेको पुष्टि गरेको हो । सलह देखा परेको भन्दै शाखाले फैलन सक्ने स्थानहरुमा सरोकारवाला सबैले पहिचान र कीराको जीवनी, आनीबानी जानकारी लिई संभव हुने व्यवस्थापनका बिधिहरु एकीकृत एवं सामूहिक तवरले अवलम्बन गर्न आग्रह गरेको छ ।
       सलह व्यवस्थापनका लागि गैह्र रासायनिक बिधिहरु ठुल्ठूला आवाजहरू निकाल्ने, धुवाँउने, लामा डोरीहरू बारीको वारपार टाँगेर दुईजनाले दुईतिरबाट बालीनालीका बोटहरू हल्लाइदिने, चराहरूलाई संरक्षण गर्ने, सलह उडनु अघि बिहान बिहानै बाली खानुभन्दा पहिलै बारीबाट सलहलाई धपाउने, प्रकोप क्षेत्रका कृषकहरूलाई पनि विषादीरहित सलह संकलन गरी पशुपंछी तथा माछाको दानाहरूमा प्रयोग गर्ने, नेट तथा जालीहरूले छेक्ने, जालमा समात्ने विधिहरु अपनाउन पनि नगरपालिकाको उक्त शाखाले आग्रह गरेको छ ।
       मानव बसोवास भएको ठाँउमा सकभर रासायनिक बिषादी प्रयोग नगर्न र सिफारिस गरिएको बिषादी उचित बिधि अनुसार सुरक्षितपुर्वक स्प्रे गर्न पनि सुचनामा आग्रह गरिएको छ । कटारीबजारमा समेत सलह किरा देखा परेको भन्दै सामाजिक संञ्जालमा स्थानीयहरुले पोष्ट गरिरहेका छन् ।