Udayashree News

तेस्रो कटारी नगर मेयर कप फुटबल प्रतियोगिता सुरु

उदयश्रीन्युज सम्बाददाता
चैत्र , ८ , आईतबार
कटारी  /स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ उदयपुरको कटारी नगरपालिकामा तेस्रो कटारी नगर मेयर कप फुटबल प्रतियोगिता शनिबार देखि सुरु भएको छ । शनिबार प्रतियोगिताको उदघाटन नगरपालिकाका उपमेयर भिमकुमारी राउतले गरिन् । उदघाटन गर्दै उपमेयर राउतले नगरमा शिक्षा , स्वास्थ्य र विकासका पूर्वाधार विकास जस्तै खेलकुद पनि महत्वपूर्ण रहेकाले नगरले विशेष प्राथमिकतामा राखेको बताईन् ।
        नगरपालिकाको प्रायोजनमा साथी समूह कटारीको आयोजनामा प्रतियोगिता जारी छ । प्रतियोगितामा कटारी नगरपालिकाका १४ वडामध्ये १३ वडाले प्रतिष्पर्धा गरिरहेको समूहका सचिव राजकुमार थापा क्षेत्रीले बताए । आगामी १३ चैत्र सम्म जारी रहने प्रतियोगिताको विजेता वडाको टिमले लाभकर सहित नगद ७६ हजार २ सय ५० का साथमा मेडल , कप र प्रमाण पत्र हात पार्नेछ । त्यसैगरी उपविजेता टिमले लाभकर सहित नगद ३८ हजार ७ सय ५० का साथमा मेडल , कप र प्रमाण पत्र हात पार्नेछ ।
       त्यसैगरी उत्कृष्ट खेलाडी , उत्कृष्ट गोल रक्षक , सर्वोत्कृष्ट गोलकर्ता , र एकजना उदियमान खेलाडीलाई नगद २ हजारका साथमा प्रमाण पत्र र मेडल प्रदान गरिनेछ । सम्बन्धित वडाका खेलाडीहरुको नाम वडा कार्यालयले सिफारिस गरेको छ ।