Udayashree News

कटारीमा पर्यटन ः सिमित नीति , छैन बजेट

 ऋषि राई
१७ साउन २०७६
उदयपुरको पश्चिमी जिल्लाकै दोस्रो ठूलो ऐतिहासिक बजार समेत रहेको कटारी नगरपालिकाले पर्यटन क्षेत्रलाई ओझेलमा पारेको छ । एडमण्ड हिलारीको समूह कटारीबाटै पैदल सगरमाथा चढ्न गएको ईतिहास रहेका कारण सगरमाथाको प्रवेशद्वारले परिचित कटारी नगरपालिकामा पर्यटन क्षेत्रको विकास सोचेअनुरुप छैन् ।
         सन् २०२० लाई राज्यले नै पर्यटन भित्राउने वर्षका रुपमा तयारी गरिरहँदा कटारीमा न कुनै राज्यले सम्बोधन गर्ने गन्तब्य छ प्रदेश र स्थानिय सरकारले समेत यस नगरपालिकामा पर्यटनका लागि आवश्यक पहल गरेको देखिएन । आर्थिक वर्ष २०७६/७७ का लागि कटारी नगरपालिकाले गएको १३ असारमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो ।
         नीति तथा कार्यक्रममा पर्यटन प्रवद्धृन शिर्षकमा ७ बुँदा राखिएका छन् । पहिलो बुँदामा नगरका पर्यटकिय स्थलहरुलाई गन्तब्यको रुपमा विकास गरिने कार्यलाई निरन्तरता दिईने , पर्यटन मार्ग लगायतका नीति राखिएको भएपनि २९ असारमा सम्पन्न चौथो नगर सभामा बजेट तथा कार्यक्रम समेटिएको छैन् ।
     त्यसैगरी नीति तथा कार्यक्रममा पर्यटकिय स्थलहरुको प्रवद्र्धनात्मक कार्य गरिनुका साथै साँस्कृतिक महोत्सव , होमस्टे संञ्चालनलाई नीति बनाईएकोमा नगर सभाले साँस्कृतिक महोत्सबका लागि १५ लाख बजेट छुट्याएपनि दिगो र स्थायी पर्यटनका लागि हामेस्टे लगायतका कार्यक्रममा बजेट छैन् । नीतिमा रहेका भ्यूटावर निर्माण ,पार्कहरुको विस्तार , पर्यटन विस्तार प्रवद्धृनका लागि कार्यक्रम तर्जुमा प्रचार प्रसारमा समेत बजेट राखिएको छैन् ।
         नीति तथा कार्यक्रममा रहेको बेतेनी , ताराघारी महादेव गुफा , स्मृति बाटिका , कमला धाम , गैंडा आहाल , र हरियाली पार्कका लागि पर्यटनबोर्डसँग सहकार्यका लागि अनुरोध गर्ने भन्दै बजेट छुट्याउनबाट नगरपालिका पन्छिएको देखिन्छ ।
१५ लाखको साँस्कृतिक महोत्सबको तयारी


आर्थिक वर्ष २०७६÷७७ का लागि चौथो नगर सभाले पारित गरेको कार्यक्रम परियोजना अनुसार बजेट बिनियोजनको सिरियल नम्बर ७१ मा प्रथम ऐतिहासिक पर्यटन तथा साँस्कृतिक महोत्सब शिर्षकमा १५ लाख बजेट छुट्याईएको छ । सभाले पर्यटन प्रवद्धृनका लागि पारित गरेको यो बजेटले महोत्सबको आयोजना गरिनेछ ।
         विगतमा पनि कटारीमा विभिन्न मेला महोत्सबहरु भएका थिए । भएका महोत्सबहरुले पर्यटन क्षेत्रको कति विकास गरेको थियो लेखाजोखा छैन् । यस बजेटले पनि महोत्सबका नाममा आयोजकको मिलेमतो र चाहनामा सिमित कलाकार ल्याएर मनोरञ्जन दिने मात्रै हो भने दिगो पर्यटनका लागि काम हुन नसक्ने देखिन्छ ।
        नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले भने यस महोत्सवले साँस्कृतिक पक्षलाई जोड दिने बताउँछन् –‘सबै जातजातिका साँस्कृतिक झल्कोहरु दिनेछ ।’श्रेष्ठले भने –‘ठूलो उत्सबका रुपमा महोत्सव गर्ने तयारीमा छौं ।’ त्यसैगरी कटारी बजार नजिकैको ऐतिहासिक गैंडा आहाललागि पनि आप्mनै पहलमा डिपिआर तयार गरेर काम गर्ने श्रेष्ठले बताए ।‘तुरुन्तै गैंडा आहालको विकासका लागि काम थाल्न पहल गर्छु ।’ मेयर श्रेष्ठका अनुसार यस बजेटको महोत्सव दसैं र तिहारको बीचमा गर्ने तयारी भईरहेको छ ।
गतसालको उपलब्धि ः भूगोलपार्क
स्थानिय सरकारले कटारी नगरपालिकामा निर्माण गरेको भूगोलपार्क कटारीलाई चिनाउन केहि हदसम्म सफल भएको छ । बजारको मूख्य केन्द्र गोलपार्क वर्षौदेखि विभिन्न योजनामा रहेको भएपनि निर्माण सम्पन्न भएको थिएन । नगरपालिकाले यसलाई नयाँ स्वरुप दिएर सिद्धिचरण राजमार्गबाट आउजाउ गर्ने आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण भने दिएको छ ।
         भूगोल पार्कको योजनामा वातावरण संरक्षण र पर्यावरण जोगउन सर्वसाधरणलाई सचेत गराउने उद्देश्य राखिएको थियो । ‘वातावरणको संरक्षण गरौं, पृथ्वीको पर्यावरण जोगाउ’ भन्ने सन्देश दिने स्माकर सहितको पार्क निर्माण सम्पन्न भएको छ । पार्कमा हिमाल, पहाड, तराई र कटारी नगपालिका क्षेत्रका आदिवासी दनुवार जातिको प्रतिनिधित्व गर्ने ७ जना सर्वसाधारण आफै चारै तिरबाट पृथ्वी बोकिरहेको स्मारकसहितको पार्क निर्माण भएको छ ।
       अहिले यहाँबाट आउजाउ गर्ने देखि स्थानियहरुले समेत पार्कलाई पृष्ठभूमि बनाएर फोटो खिच्ने र सामाजिक संञ्जालमा पोष्ट गर्ने क्रम बढ्दो छ । यसले कटारीलाई विश्वसामु पुराउन पहल गरिरहेको छ । त्यसैगरी कटारी नगरपालिकाकै वडा नम्बर ३ मा रहेको महादेव गुफाको माथिल्लो क्षेत्रमा रेलिङ्ग र बसाहा राखेर नगरपालिकाले दिगो काम गरेको देखिएपनि यस वर्ष पछिसम्म रहिरहने आयोजनाहरु बजेटमा पारेको देखिन्दैन ।